Published at: https://ecosamachar.com/2022-01-2057638099?fbclid=IwAR1iR97-3iZwIncGkMHzzRSEik17ABujveltLJWYfNuVoIvHGYaUvgbrjI8
जलवायु परिवर्तनको असर न्युनीकरणमा लघु तथा मझौला जलविद्युत आयोजनाको सकारात्मक प्रभाव रहेको विज्ञले बताएका छन् । नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकास तथा विस्तारका कारण जलवायु परिवर्तनका कारण विश्वमा परिरहेको असर न्यूनीकरणमा सहयोग पुगेको छ । नेपाल ईनर्जी फाउण्डेशनको छैठौं साधारण सभाको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रममा नेपालले पछिल्लो समय जलवायु परिवर्तनका कारण झेलेका समस्या र समाधानका उपायका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सुरेन्द्र लाभ कर्णले नेपालको जलवायु परिवर्तनको असर क्रमिक रुपमा बढ्दै गएकाले यसको निराकरणमा सबैको साझा धारणा तथा कार्यक्रम आवश्यक रहेको बताउनुभयो । नेपालको ग्रामिण वा शहरी क्षेत्रमा बस्ने नागरिक यसका कारकको मारमा मौसम परिवर्तन, प्राकृतिक प्रकोप तथा अन्य वातावरणीय समस्या देखिएकाले यसतर्फ ध्यान जान आवश्यक रहेको सुझाउनुभयो । नेपाल ईनर्जी फाउण्डेशन र ऊर्जा र वातावरणका लागि महिला संजालले गरिरहेको कामकोप्रशंसा गर्दै यस्ता संघ संस्थाले स्थानीय सरकार तथा नागरिकलाई सहि जानकारी दिएर सूचित गर्दै क्षमता विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा जलवायु परिवर्तका असर न्यूनीकरणमा भईरहेका प्रयासबारे जानकारी गराउनुभयो । उहाँले पृथ्वीको तापक्रम क्रमिक रुपमा बढ्दै गएकाले यसतर्फ सबैले सोच्न आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनको असरका कारण सिंगो विश्वनै प्रताडित भईरहेको अवस्थामा नेपालमा यस क्षेत्रमा सक्रिय नागरिक तथा सरकारको सामुहिक प्रयास आवश्यक रहेको छ ।
नेपालमा संचालन भईरहेका लघु जलविद्युत आयोजना ऊर्जा उत्पादनमा गरेको योगदानले समस्या समाधानमा सहयोग पुगेको छ । नेपालमा जलवायु परिवर्तनसम्बन्धी नीतिको आधार र कोप २६ का विषयमा ऊर्जा विज्ञ दिल राज खनालले तीनै तहका सरकारले राष्ट्रिय जलवायु परिवर्तन नीतिमा भएको व्यवस्था अक्षरंश कार्यान्वयन गर्नमा जोड दिनुभयो ।
नेपाल ईनर्जी फाउण्डेशनका अध्यक्ष मोहन दास मानन्धरले फाउण्डेशनले गरेका कार्यको समिक्षा गर्दै जलवायु परिवर्तनका विषय, यसका कारक र न्यूनीकरणका उपायबारे विभिन्न तहमा व्यापक छलफल हुन तथा समाधानको उपाय सुझाउन सबैलाई आग्रह गर्नुभयो । प्रत्येक नागरिकको व्यवहारमा जलवायु परिवर्तनको असर सम्बन्धित भईरहेको बताउनुभयो ।
कार्यक्रममा फाउण्डेशनका प्रवन्ध निर्देशक डिल्ली घिमिरेले उपस्थित सबैलाई धन्यवाद दिदै ऊर्जामा पहुँच बिस्तारमा सहयोग गर्न आग्रह गर्नुभएको छ । सो अवसरमा ऊर्जा क्षेत्रमा सक्रिय अभियन्ता तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।